काठमाडौं । सिरहा, बाँके, बर्दिया, धनुषा र सुनसरीका छुट्टाछुट्टै स्थानहरूमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिरहा गोलबजार नगरपालिका-९ शिवमस्थित सडकमा ना.१ ज ८३६३ नम्बरको म्याजिक गाडी आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार धनुषा, सवैला नगरपालिका खरीयानी टोल बस्ने ५५ वर्षीय सिंगेश्वर साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैया हुँदै फुलकुमारी महतो मेमोरीयल अस्पताल कर्जन्हामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी हात्तिसारस्थित सडकमा भे.१० प ६९२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जानकी गाउँपालिका-४ गौरिनगर घर भएका भिमसेन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बाँकेकै बैजनाथ गाउँपालिका चिसापानी गाभरचोकस्थित सडकमा ना.८ ख ६९०३ नम्बरको ट्रकले रा.४ प ७१२१ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका-८ बस्ने ४६ वर्षीय नारायण चालिसेको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएको उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बर्दिया ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ चोकस्थित सडकमा लु.१ ख ९७५६ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय खड्कु थारुको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा सबैला नगरपालिका-१० गेरुवाहीस्थित सडकमा स.१ ख ९०९ नम्बरको टिपरको पछाडी चक्कामा च्यापिएर सोही टिपरका चालक उदयपुर, कटारी नगरपालिका-२ बस्ने २८ वर्ष बुद्ध बहादुर तामाङको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी सुनसरी रामधुनी नगरपालिका-१ शिवचोकस्थित सडकमा प्रदेश नम्बर ३-०२-००९ प ८४१४ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ हसन्दह बस्ने ३५ वर्षीय पूर्ण कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरी हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।