मोरङ । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर-११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर-६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनिहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि एक थान, कानमा लगाउने झुम्का तीन थान, एलसीडी टिभि एक थान, मोबाइल दुई थान, फलामे कराई एक थान, फलामे औजार चार थान, चाँदीको सिक्री एक थान र ५ लाख ८ हजार ७ सय ३ रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेठ ९ गते विराटनगर-११ का बिनोद कुमार नुनियाले संचालन गरेको महाविर इलेकट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद रु ६५ हजार, गत जेठ ११ गते विराटनगर १५ बैंक रोडका समिर लामाको wineart पसलमा राती झ्याल फुटाई नगद रु. ८९ हाजर १ सय ४५ र २ वाट मोबाइल चोरी गरेको खुलेको छ ।
त्यसैगरी गत जेठ १६ गते विराटनगर-९ महेन्द्र चौक स्थित अनिस रिजालले संचालन गरेको Next terms education visa serves ढोका फुटाई धाराको टुटी ७ थान र गत जेठ १५ गते विराटनगर ९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलले संचालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलबाट पछाडी छतबाट पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद रु. १७ हजार र ग्याँस सिलिण्डर एक थान चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
पक्राउ परेका चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।