काठमाडौं । धादिङ, चितवन, गोरखा, रौतहट र रामेछापका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धादिङ धुनिवेशी नगरपालिका-९ काफलचौरमा ना.१ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार तामाङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको समाज अस्पताल सतुङ्गल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी धादिङ गल्छी गाउँपालिका-७ भलटारस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय नबराज घिमिरेको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बुढीगण्डकी अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो । शंकास्पद एक ट्रकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवन भरतपुर महानगरपालिका-२९ घुमाउने भन्ने स्थानमा ना.५ ख ८१५५ नम्बरको ट्रक र बा.४८ प ८८३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१० रमाईलो चोक बस्ने ३५ वर्षीय बिनोद अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-२९ जुगेडी बस्ने २८ वर्षीय मनोज थापा क्षेत्रीको सोही अस्पताल हुँदै थप उपचारको लागि नँया मेडिकल कलेज पठाइएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी गोरखा पालुङटार नगरपालिका-९ मसानठाँटीमा ग.१ त ४२७८ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा सोही ट्याक्टरमा काम गर्ने धादिङ दार्खा-३ खनिया घर भएका २० वर्षीय याकुब तामाङको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रौतहट गौर नगरपालिका-४ गौर चपुरस्थित सडकमा बीआर ०५ एएच ७५४४ नम्बरको मोटरसाइकललाई ज.१ त ४४१४ नम्बरको ट्याक्टरले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक वौधीमाई नगरपालिका-७ बंकुल बस्ने ३२ वर्षीय मुकेश जयसवालको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय शिवकुमार यादवको सोही अस्तपाल हुँदै थप उपचारको लागि वीरगंज पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रामेछाप मन्थली नगरपालिका-१ बसपार्कमा ना.६ त ४५८५ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार दैलेख नौमुले गाउँपालिका-२ बस्ने २० वर्षीय कृष्ण शाहीको शनिबार साँझ मृत्यु भएको छ । ट्याक्टरबाट अचानक खस्दा गम्भीर घाइते भएका उनको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।