काठमाडौं । नवलपरासीपूर्व, मकवानपुर, धनुषा र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नवलपरासीपूर्व बिनयीत्रिबेणी गाउँपालिका-४ पाखापानीस्थित भित्री सडकमा ना.५५ प ९७८९ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री पाल्पा माथागढी गाउँपालिका-४ बस्ने २७ वर्षीय हर्क बहादुर डिसा मगरको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बिनयीत्रिबेणी गाउँपालिका-४ सर्दी बस्ने २८ वर्षीय कपिल भुषालको स्थानीय लुम्बिनी मेडिकल हुँदै थप उपचारको लागि चितवनतर्फ पठाइएको छ भने १ जना घाइते उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकमा ना.५ ख ५९६३ नम्बरको ट्रक र ना.५ ख १८६४ नम्बरको ट्रक एक-आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा हाल नाम,थर, वतन नखुलेका ना.५ ख ५९६३ नम्बरको ट्रकको चालक र सह-चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका ना.५ ख १८६४ नम्बरको ट्रकमा सवार २ जनाको चुरेहील अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित सडकमा बागमती प्रदेश ०१-००२५ च ३६३८ नम्बरको एम्बुलेन्सले ना.६ ख ४३८० नम्बरको ट्रकलाई बिहीबार बिहान ठक्कर दिंई दुर्घटना हुँदा एम्बुलेन्समा सवार सर्लाही बागमती नगरपालिका-४ बस्ने ६६ वर्षीय जित बहादुर थिङ्को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका एम्बुलेन्समा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा धनुषाधाम नगरपालिका-९ स्थित सडक छेउमा रोकी राखेको ना.४ ख ३४७४ नम्बरको डिजल ट्याङकरमा ज.८ प ३४६३ नम्बरको मोटरसाइकल बुधबार राति ठक्कर खाँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने १७ वर्षीय राजेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका-६ बस्ने १६ वर्षीय ईनरजीत सहनीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ट्याङकरका सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देही सिद्दार्थनगर नगरपालिका-१२ सुवर्णपथस्थित सडकमा लु.७० प ६८४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पार्किङ गरी राखेको लु.१ ख ६९७१ नम्बरको ट्रकमा ठोकिएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।