काठमाडौं । काठमाडौं, कपिलवस्तु, रुकुमपश्चिम, रौतहट, कञ्चनपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं तार्केश्वर नगरपालिका-११ नेपालटारमा प्र.३-०२-०१६ प ५८६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक रसुवा आमाछोदिङ्ग गाउँपालिका-३ घर भएका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कपिलवस्तु बुद्धभूमि नगरपालिका-९ डुमरा बस्ने ३५ वर्षीय मान प्रसाद भुषालको मोटरसाइकल दुर्घटनामा परी सोमबार साँझ मृत्यु भएको छ । सोही नगरपालिका-९ खैरेनीयास्थित सडकमा भुषालले चलाएको लु.२३ प २७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएपश्चात पुन: लु.३० प २७८ नम्बरको मोटरसाइकलले कुल्चिँदा गम्भीर घाइते भएका भुषालको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उनकै छोरा ८ वर्षीय अरबिन्द भुषालको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार लु.३० प २७८ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी रुकुमपश्चिम बाफिकोट गाउँपालिका-७ दुलिङ खोलामा रा.१ त ३८९५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-६ बस्ने १६ वर्षीय आशिष केसीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक मुसिकोट नगरपालिका-७ साख बस्ने २५ वर्षीय मन बहादुर बिक र बाफिकोट गाउँपालिका-७ बस्ने १७ वर्षीय बिजय अधिकारीलाई स्थानीय क्लिनिक हुँदै थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
यसैगरी रौतहट चन्द्रपुर नगरपालिका-६ मोथियाही पुलस्थित सडकमा ना.५ त ९२६५ नम्बरको ट्याक्टरमा ना.६४ प १२२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोकिएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बाल्चनपुर बस्ने १८ वर्षीय दिपक चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिका-१ राजिपुर बस्ने २९ वर्षीय सुमीत मिस्त्रीको मोटरसाइकल दुर्घटनामा परी सोमबार दिउँसो मृत्यु भएको छ । सुमीतले चलाएको से.५ प ५५३४ नम्बरको मोटरसाइकल घर नजिकै रहेको पसलबाट फर्किने क्रममा अनियन्त्रित भई पल्टीदा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङ बुढीगंगा गाउँपालिका-३ गोकुवा चोकमा प्र.१-०२-०४५ प ६०८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने ५० वर्षीय बाल कुमार बस्नेतको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सुनसरी ईटहरी बस्ने २५ वर्षीय समराज्य चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।