काठमाडौं । काठमाडौं, कपिलवस्तु, दाङ, प्युठान, रामेछाप, सुनसरी र सिरहाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं, तारकेश्वर नगरपालिका-२ ढकालटारस्थित सडकमा प्रदेश नं. ३-०२-००१ ब १० ३६ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा काठमाडौं नेपालटार बस्ने नुवाकोट ककनी गाउँपालिका-६ घर भएका ३५ वर्षीय सुरेन्द्र लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कपिलवस्तु कृष्णनगर नगरपालिका-११ झिंगा चोकस्थित सडकमा लु.१ ख ७४५० नम्बरको बसले यूपी ५५ आईएल ०३७५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका-१२ नारायणपुर बस्ने २५ वर्षीय राम वरण यादबको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङ लमही नगरपालिका-८ उचानिम्वुस्थित सडकमा ना.५ च ५८६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-७ बस्ने २७ वर्षीय बिशाल योगीको मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी प्युठान प्यूठान नगरपालिका-८ पाडावाङस्थित सडकमा लु.२ च ६७८१ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा सोही नगरपालिका-८ बाग्दुला बस्ने २१ वर्षीय समर कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यसैगरी रामेछाप लिखुतामाकोसी गाउँपालिका-६ खिम्ती बजारस्थित प्रहरी चौकी खिम्तीबाट गस्तीमा खटिएको बा.७४ प ५२१५ नम्बरको मोटरसाइकललाई ना.६ त २७७२ नम्बरको ट्याक्टरले मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी हवल्दार ३६ वर्षीय नन्दलाल सरदारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको तामाकोसी अस्पताल मन्थली हुँदै नेपाल प्रहरी अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार प्रहरी नायव निरीक्षक ४५ वर्षीय जोखन बैठाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सुनसरी ईटहरी उपमहानरगपालिका-६ स्थित सडकमा को.१ च ७८१६ नम्बरको भ्यानले को.२० प ४६८३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक ईलाका प्रहरी कार्यालय चिमडी सुनसरीमा कार्यरत झापा कचनकबल गाउँपालिका-६ घर भएका प्रहरी जवान ३३ वर्षीय कमल बहादुर खड्काको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिरहा सिराहा नगरपालिका-३ मखनाहास्थित सडकमा स.११ प ४६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने अमित कुमार मण्डलकी ३ वर्षीया छोरी सरधा कुमारी मण्डलको मंगलबार राति मृत्यु भएको छ । उक्त मोटरसाइकलले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।