झापा । झापा बिर्तामोडका स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा झापा बाह्रदशी-३ का मंगल सिंह राजवंशी, झापा भद्रपुर-७ का नवीन कोइराला, झापा बाह्रदशी-५ का लिलाधर राजवंशी, झापा गौरीगंज-१ का बलराम बिश्वकर्मा, झापा शिबसताक्षी-८ का भुपदेव कटुवाल, झापा अर्जुनधारा-५ का लेखनाथ खनाल, झापा बिर्तामोड-४ का गोविन्द वान्तवा, बिर्तामोड-१० का देवी प्रसाद पाण्डे, बिर्तामोड-४ की रञ्जु राई र मोरङ उर्लाबारी-४ का राजन विश्वकर्मा रहेका छन् ।
यो समुहले झापा बिर्तामोड-१ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पूर्व-पश्चिम राजमार्गमा जोडिएको स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त जग्गा ठगी गर्नको लागी पक्राउ परेका मध्ये देवी प्रसाद पाण्डेलाई नक्कली टुंग बहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाई मिति २०७७ साल असोज २८ गते काठमाडौं जिल्ला अदालतबाट झापा बाह्रदशी-३ घर भई हाल बिर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको र उक्त वारेशनामा मार्फत झापा बिर्तामोड-४ की रञ्जु राईको नाममा मिति २०७७ साल माघ २१ गते राजिनामा पास गरेको घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेसगै एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह (आरआइटि), जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न रहेका मध्ये १० जनालाई पक्राउ गरि सार्वजनिक गर्न सफल भएको हो ।
यस ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधीहरुको समेतको संलग्नता तथा पहिचान भई फरार रहेका उनिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।