काठमाडौं । मोरङ, झापा, गुल्मी, महोत्तरी र धनुषाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनमा परी ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोरङ जहदा गाउँपालिका-१ भुटाहाचोकस्थित स्काईभेटरमा तेल राख्ने क्रममा स्काईभेटरको बकेटले थिचेर स्काईभेटर चालक ताप्लेजुङ्ग घर भएका २६ वर्षीय दिपक तामाङको शुक्रबार दिउँसो मृत्यु भएको छ । बकेटले थिचेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी झापा बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकस्थित सडकमा मे.१ च ६४१३ नम्बरको बलेरो गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका ४१ पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी गुल्मी दरबार गाउँपालिका-७ घुम्तीस्थित सडकमा लु. २३ प ५०६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार बेलुका दुर्घटना हुँदा चालक चारपाला बस्ने ४५ वर्षीय राम बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी महोत्तरी औरही नगरपालिका-१ स्थित सडकमा अन टेष्टलेखिएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय बिजय महतो सुडीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी धनुषा सहिदनगर नगरपालिका-३ स्थित सडकमा ज.११ प ४७१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कमला नगरपालिका-३ बस्ने २२ वर्षीय रुपेश कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार कमला नगरपालिका-३ बस्ने २८ वर्षीय दिपक यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।