काठमाडौं । मोरङ, सप्तरी, बारा, धनुषा, नवलपरासी (पश्चिम) र धादिङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिका-६ दुलारीमा को.१ ख ४४०८ नम्बरको बस र प्रदेश १-०२-०४२ प ९५६१ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-३ बस्ने २० वर्षीय अजय सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बिराटनगर महानगरपालिका-३ बस्ने १९ वर्षीय आन्द सहनीको सामुदायिक अस्पताल ईटहरीमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सप्तरी खडक नगरपालिका-४ पनसेरामा प्रदेश-०२-०१५ प २५६५ नम्बरको मोटरसाइकल र बा.२० च २१५९ नम्बरको पिकअप शुक्रबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङ ज्वालामुखी गाउँपालिका-४ बस्ने ३८ वर्षीय चाम बहादुर राना मगरको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारको लागि राउ अस्पताल लहान सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बारा जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जमा ना.१७ प ७८२७ नम्बरको मोटरसाइकल र युके ०८सिए ५०९७ नम्बरको ट्रक शुक्रबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-२२ बस्ने ३७ वर्षीया निमा शेर्पा तितुंगको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही उपमहानगरपालिका-२२ बस्ने ५६ वर्षीय विजय कान्ता झाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा सबैला नगरपालिका-५ मखनामा ज.१ ख ८८५ नम्बरको बसबाट लडेर सोही ठाउँ बस्ने ४० वर्षीया सुनितादेवी यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ । बसबाट झर्ने क्रममा लडेर गम्भीर घाइते भएकी उनको जानकी हेल्थकेयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१६ केराबारीमा लु.४१ प १ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय दिपक सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका बस्ने ३० वर्षीय कमल सापकोटालाई थप उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ ।
यसैगरी धादिङ बेनिघाट रोराङ गाउँपालिका-७ चरौदीमा प्रदेश ३-०२-००३ प ८५३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर हुने पार्वती देवी साहको छोरा ८ वर्षीय आदर्श कुमार साहको शनिबार बिहान मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।