सिरहा । लहान नगरपालिका-८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने कोठाको प्लाई छेउमा प्रेसरकुकर बम विस्फाट हुँदा ८ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा सिरहा धनगढीमाइ नगरपालिका-४ बस्ने ३० वर्षीय दिनेश कुमार भण्डारी, विष्णुपुर गाउँपालिका-३ बस्ने मालपोत कार्यालयका नायव सुब्बा ३८ वर्षीय शिव कुमार यादव, गोलबजार नगरपालिका-६ बस्ने ३५ वर्षीया लक्ष्मी राणा, सोही ठाउँ बस्ने ३५ वर्षीया बेचनी मगर, लहान नगरपालिका-१६ बस्ने ५२ वर्षीय लाल बहादुर विक, गलबजार नगरपालिका-४ बस्ने ३८ वर्षीया फुल कुमारी ठाकुर, भगवानपुर गाउँपालिका-३ बस्ने ५४ वर्षीय बद्री नारायण यादव र धनगढीमाई नगरपालिका-१३ बस्ने ८२ वर्षीय भोला बहादुर पाचे मगर रहेका छन् ।
घाइतेहरुमध्ये भोला बहादुर पाचे मगरको सप्तऋषि अस्पताल लहानमा तथा लक्ष्मी राणा, बेचनी मगर, लाल बहादुर विक, फुल कुमारी ठाकुर र बद्री नारायण यादवको राउ स्मारक अस्पताल लहानमा उपचार भइरहेको छ ।
दिनेश कुमार भण्डारीलाई सप्तऋषि अस्पताल लहानमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं ल्याईएको छ भने नायव सुब्बा शिव कुमार यादवलाई सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारका लागि विराटनगर नोबेल अस्पताल रिफर गरिएको छ । घाइतेहरुमध्ये दिनेश कुमारको अवस्था गम्भीर तथा लाल बहादुर विक, फुल कुमारी ठाकुर र बद्री नारायण यादवको अवस्थामा मध्यम रहेको छ भने अन्यको सामान्य रहेको छ ।
उक्त स्थानमा बम विस्फोट भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक समेत र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले घाइतेहरुलाई तत्काल उद्दार गरी उपचारका लागि अस्पताल लैजानुको साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।