काठमाडौं । बाग्लुङ, कपिलवस्तु, नुवाकोट, झापा र रौतहटका छुटाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाग्लुङ तमानखोला गाउँपालिका-१ भबिरस्थित सडकमा ग.१ ज ५७०५ नम्बरको जिप आँफै अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार १७ बर्षीया मिना रसाईलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपमा सवार ५ जनालाई सोही स्वास्थ्य केन्द्र हुँदै थप उपचारका मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कपिलवस्तु शुद्धोधन गाउँपालिका-३ घेरुवा चोकस्थित सडकमा यूपी ४३ टी ८३९२ नम्बरको ट्रकको ठक्करबाट सोही गाउँपालिका-३ असुरैना बस्ने अनुरुद्र कोहारकी ४ वर्षीया छोरी शिवानी कोहारको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नुवाकोट बेलकोटगढी नगरपालिका-७ रातेमाटेस्थित सडकमा प्रदेश २-०१-०१९ प ६०७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट बेलकोटगढी नगरपालिका-७ बस्ने ४५ वर्षीय बिरमान श्रेष्ठको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा दमक नगरपालिका-५ गोर्खा डिपार्टमेन्ट नजिक सडकमा प्रदेश १-०१-१३ प ८७६६ नम्बरको मोटरसाइकल र मे.९ प ६२१९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-८ बस्ने ५० वर्षीय ईन्द्र भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लाईफ लाईन दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २६ वर्षीय संजोक सुन्दासको निम्स अस्पताल दमक हुँदै थप उपाचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड रिफर गरिएको छ ।
यसैगरी रौतहट माधवनरायण नगरपालिका-६ माधोपुरस्थित सडकमा बीआर ३० एस ९२७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय छोटेलाल पण्डितको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थ ल्याण्ड अस्पताल गरुडामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।