काठमाडौं । मोरङ, सिरहा, कास्की, कैलाली, बाँके र रुपन्देहीका छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोरङ कटहरी गाउँपालिका-७ तकिया चोकस्थित सडकमा प्रदेश नम्बर १-०२-०४३ प २०७८ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुदाँ स्कुटर चालक ग्रामथान गाउँपालिका-४ बस्ने २५ बर्षीय धिरज माझीको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी सिरहा लहान नगरपालिका-११ पडरिया चोकस्थित सडकमा मे.१ च ६८३६ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१२ बेली जटियाही बस्ने ४० बर्षीया बुधनी देबी सदाको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि राउ स्मारक अस्पताल हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कास्की पोखरा महानगरपालिका-१७ विरौटामा बा. ४ ख ६३८० नम्बरको टिपरले ग. ५ प २५२३ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक मुस्ताङ लो-घेकर दामोदरकुण्ड गाउँपालिका-६ घर भएका ४४ बर्षीय तेन्जिङ नवाङ गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली गोदावरी नगरपालिका-१ मनहरा पुल नजिकै से.६ प ३१०३ नम्बरको मोटरसाइकल शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-५ जाँई बस्ने २२ बर्षीय जगत चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बाँके डुडुवा गाउँपालिका-४ शान्ति चोकस्थित सडकमा रा.१ ख २५०८ नम्बरको टिपरले भे.१ प ४४२५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा नारायण नगरपालिका-८ बस्ने ४६ बर्षीय रामदेव मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको नर्सिङहोम नेपालगंज हुँदै भारतको लखनउमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी रुपन्देही ओमसतिया गाउँपालिका-६ नरैनापुरस्थित भित्री सडकमा ना.३ ख ४५९९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय दयाराम मल्लाह सहनीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।