काठमाडौं । गुल्मी, महोत्तरी, कैलाली, सिरहा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
यसैगरी गुल्मी रेसुङगा नगरपालिका-१४ ठुलापँधेरास्थित सडकमा लु.१ ज १९८८ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिपमा सवार सोही ठाउँ बस्ने बस्ने ४७ वर्षीय एकराज पोख्रेल, २८ वर्षीया शान्ती नेपाली र २७ वर्षीया गोमा नेपाली रहेका छन् । एकराजक घटनास्थलमै तथा शान्ती र गोमाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक समेत ८ जनामध्ये ४ जनालाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि पाल्पा रिफर गरिएको छ भने अन्य ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी महोत्तरी बलबा नगरपालिका-८ स्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने कैलाश यादवको ७ वर्षीय छोरा शिबम यादबको बुधाबर दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सोही नगरपालिका-७ स्थित कारिकबाबा बोर्डिङ्ग स्कुल बनौटामा सरस्वति पूजामा बनाएको सरस्वती मूर्ति सेलाउनको लागि गाउँमा घुमाईरहेको अवस्थामा उक्त ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कैलाली लम्कीचुहा नगरपालिका-१० स्थित सडकमा ना.५ ख ८४०६ नम्बरको ट्रकले अनटेष्ट लेखिएको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-४ बस्ने २४ वर्षीय दिनेश चौधरी र मोटरसाइकलमा सवार जानकी गाउँपालिका-१ बस्ने १८ वर्षीया सन्ध्या चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दिनेशको स्थानीय लालरत्न अस्पतालमा र सन्ध्याको मेडिकल कलेज कोहल्पुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिरहा लहान नगरपालिका-३ बलानस्थित सडकमा प्र.१-०२-००१ ख ८५१४ नम्बरको टिपरले स.११ प ४८२७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी खडक नगरपालिका-८ खेस्राहा बस्ने २३ वर्षीय मो.जाहिरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लहान अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरी रामधुनी नगरपालिका-२ धर्मकाटास्थित सडकमा को २.च ३३१२ नम्बरको पिकअप र को.३१ प ३१४७ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने २२ वर्षीय सुरज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सुरजको बिराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।