काठमाडौं । नवलपरासी(पश्चिम), सिरहा, कास्की, प्युठान, ओखलढुङगा र सर्लाहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नवलपरासी (पश्चिम) सुनवल नगरपालिका-७ सिसहनियास्थित सडकमा लु.२ ख ३२१५ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री रुपन्देही देवदह नगरपालिका-८ बिशालनगर बस्ने ४० वर्षीय भिम प्रसाद न्यौपानेको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सिरहा गोलबजार नगरपालिका-४ स्थित भित्री सडकमा प्रदेश नम्बर २-००१ प २२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक नरहा गाउँपालिका-३ खोरिया टोल बस्ने २७ वर्षीय शम्भु सदाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भुमिजा अस्पताल हुँदै थप उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी सिरहा नरहा गाउँपालिका-३ खोरिया टोलस्थित सडकमा स.१त ४२८५ नम्बरको ट्याक्टर शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सिरहा नगरपालिका-४ बस्ने २३ वर्षीय मोहमद आविदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कास्की पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित सडकमा ना.५ ख १६५० नम्बरको ट्रकमा ग.१६ प ५३० नम्बरको मोटरसाइकल शनिबार बिहान ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक पर्वत पैयुँ गाउँपालिका भोर्ले घर भइ पोखरा महानगरपालिका-१० रामबजार बस्ने २४ वर्षीय अनिल गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पर्वत महाशिला गाउँपालिका-३ बालाकोट बस्ने १८ वर्षीय गौतम अधिकारीलाई थप उपचारको लागि मणिपाल अस्पतालतर्फ पठाइएको छ । ट्रकका चालक र सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी प्युठान मल्लरानी गाउँपालिका-२ चुजाँस्थित सडकमा रा.१ ह ५१३४ नम्बरको अटो सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा अटो चालक सोही गाउँपालिका-३ बरबोट बस्ने ४० वर्षीय जनक परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल बिजुवारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी ओखलढुङा मानेभञ्ज्याङ गाउँपालिका-६ हिलेपानीस्थित सडकमा बा.४ ख ५१६ नम्बरको टिपर सडकबाट करिब २ सय मिटर तल खसेर गएराति दुर्घटना हुँदा टिपरमा सवार हाल वतन नखुलेका २२ वर्षीय बिजय तामाङको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सर्लाही बाग्मती नगरपालिका-८ स्थित सडकमा प्रदेश नम्बर २-०२-००३ प ३२७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दमाई सार्कीको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवन हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको उपचारको लागि वीरगंजतर्फ लगिएको छ ।