काठमाडौं । काठमाडौं, झापा, सिरहा, कपिलवस्तु, नवलपरासी(पश्चिम) र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका-५ स्थित सडकमा प्र.३-०२-००९ प ८४४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तार्केश्वर नगरपालिका-३ बस्ने १२ वर्षीय अमृत देवकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ओम समाज हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सहित २ जनाको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी झापा बुद्धशान्ती गाउँपालिका-४ बर्नेस्थित सडकमा मे.१ ज २०९३ नम्बरको सुमो गाडी र मे.७ प ९४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ बस्ने २१ वर्षीय कमल चौधरी र मोटरसाइकलमा सवार १८ वर्षीया हेमा महत रहेका छन् । दुर्घटनाको बीएण्डसी हस्पिटल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिरहा धनगढिमाई नगरपालिका-११ सगरमाथा पेट्रोल पम्पनजिक सडकमा स.४ प २६६६ नम्बरको मोटरसाइकल र स.१ त ४९६५ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक लहान नगरपालिका-२० मोतिपुर बस्ने ५५ वर्षीय साजन साहको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको श्रमजिवी अस्पताल हुँदै थप उपचारको लागि सप्तऋषि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कपिलवस्तु शिवराज नगरपालिका-१ चयनपुरस्थित सडकमा ना.५ ख ५०७५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय हाउ थारुको बिहीबार बेलुका घट्नास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१० मन्झरिया चोकमा सडकको साईडमा रोकी राखेको लु.२ ख २८९६ नम्बरको ईन्धन बोक्ने ट्याङकरमा लु.४८ प ६७६३ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो ठक्कर खाँदा मोटरसाइकल चालक सरावल गाउँपालिका-५ बडसारे बस्ने २५ वर्षीय रमेश केवटको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै भैरहवा मेडिकल कलेज रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कञ्चनपुर कृष्णपुर नगरपालिका-५ स्थित सडकमा से.६ प ३१६७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००८ प ७१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बेलुका दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा से.६ प ३१६७ नम्बरको मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-१३ गोदावरी बस्ने २५ वर्षीय आसिश जोशी र सु.प.प्र.०१-००८ प ७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर-२ बाणी बस्ने ४० वर्षीय जनक बोहरा रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।