तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका ९ प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न अपराध एवं मुद्दाहरूमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भइ दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकाहरूको खोजी कार्य अभियान अन्तर्गत प्रहरीले ती प्रतिवादीलाई शुक्रवार पक्राउ गरेको हो ।
लागूऔषध गाँजा मुद्दामा विगत २ वर्षदेखि फरार व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलाई पक्राउ गरिएको छ । निजविरुद्ध जिल्ला अदालतले विक्रम संवत् २०७५ भदौ २६ गते १ वर्ष कैद र ५ हजार जरिवाना सुनाएको थियो ।
प्रहरीका अनुसार चोरी मुद्दामा १, सवारी ज्यान मुद्दामा १, कुटपिटमा ३, जालसाजीमा १, सार्वजनिक अपराधमा १, गाली बेइज्जतीमा १ प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
पक्राउ परेकाहरूबाट १ वर्ष कैद र १ लाख ७५ हजार २९० जरिवाना असुल गर्न बाँकी छ । उनीहरूलाई शुक्रवार अदालत समक्ष उपस्थित गराइएको छ ।-रासस