काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाइकलसहित आइतबार पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका-५ चैनपुर बस्ने वर्ष २२ को आयुष थापा मगरलाई प्रदेश ३-०२-००८ प २६०७ नम्वरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर लु ५२ प ७३३५ खुल्न आएको छ ।
उक्त नम्बरको मोटरसाइकल २०७६ भदौ महिनामा काठमाडौं ठमेल स्थित भगवानबाहाल मन्दिर अगाडि पार्किङ्ग स्थलबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि कुमार राना मगरले निवेदन महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाले जनाएको छ ।
त्यस्तै, काठमाडौं बालाजु सडकखण्डबाट जिल्ला दोलखा भिमेश्वर नगरपालिका-३ भिमफेदी घर भई हाल काठमाडौं रानिवन बस्ने वर्ष २४ को रोशन लामिछानेलाई बागमती प्रदेश ०२-०१७ प ३४४७ नम्वरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको छ ।
उक्त नम्कोबर मोटरसाइकल २०७७ मंसिर महिनामा काठमाडौं बनस्थलीबाट हराएकोले खोज तलास गरि पाउँ भनि राम कृष्ण ढकालले हुलिया सहितको निवेदन महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको महाशाखाले जनाएको छ ।
महाशाखाले पुस महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको जनाएको छ ।