काठमाडौं । सिन्धुली, बाँके, झापा, मोरङ, रौतहट, रुपन्देही र डोटीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका-७ महेश्वतामा बा.५ ख १६०५ नम्बरको बसको ठक्करबाट सोही ठाउँ डेरा गरी बस्ने दिनेश दोङकी छोरी ७ वर्षीया प्रतिमा दोङको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१८ स्थित सडकमा ना.५ ख ५७७३ नम्बरको बस भे.१ त ५१३४ नम्बरको ट्याक्टरमा ठोकिएर अनियन्त्रित भई सोही ठाउँस्थित बर्नमाल ट्रेड ईन्टरनेशनल अटो पसलको सटरमा ठोकिँदा पसल नजिक बसेका नेपालगञ्ज उपमहानगरपालिका-१३ उदयपुर बस्ने ३६ वर्षीय बिक्रम ब्रिजवासीको बसले च्यापिएर शुक्रबार दिउँसो मृत्यु भएको छ । च्यापिएर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको झापा गाउँपालिका-६ शरणामतीमा मे.१ त ५९८९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीया कुमारी बराईलीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका-३ पिपल चोकमा एनएल०१एल ५७८४ नम्बरको भारतीय लहरीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-४ बस्ने ७५ वर्षीय राम प्रसाद पोखरेलको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । लहरी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रौतहटको देवाही गोनाही नगरपालिका-७ मलङ टोलमा ना.६५ प १९१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २३ वर्षीय राधेश्याम यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय नरेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित सडकमा लु.३६ प ३३४० नम्बर र ना.३७ प ७३१० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा ना.३७ प ७३१० नम्बरको मोटरसाइकल चालक बागलुङ निसिखोला गाउँपालिका-३ घर भएका ३१ वर्षीय बिबेक भुसालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी डोटीको केआईसिंह गाउँपालिका-२ तिखातर फल्चुडामा से.१ त २३१७ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी ७ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक शिखर नगरपालिका-१० बान्डुग्रीसैन बस्ने २३ वर्षीय भक्त बलायरको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।