काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकामा मोटरसाइकल चोरी गर्ने ५ जनालाई पक्राउ गरेको छ ।
तार्केश्वर-६, धर्मस्थलीबाट १ जना र काठामाडौं-१६, म्हैपीबाट ४ जना गरी मोटरसाइकल चोरी गर्ने ५ जनालाई वुधबार पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
धर्मस्थलीबाट जिल्ला नुवाकोट काउले गाउँपालिका वडा नं. ५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई प्रदेश ३-०२,०१६ प ३८०४ नम्वरको रातो रंगको २०० सीसी को पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उक्त नम्बरको मोटरसाइकल गत कार्तिक २ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले निवेदन महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाईएको महाशाखाले जनाएको छ ।
त्यस्तै, काठमाडौं म्हैपीबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं झोर बस्ने वर्ष २२ को किरण लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, नुवाकोट सुर्यगडी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र बारा करैया गाउँपालिका वडा नं. ४ घर भई हाल तार्केश्वर नगरपालिका वडा नं. १० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उनीहरूको साथबाट प्रदेश ३-०२-०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सी.सी.को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाइकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
उक्त नम्वरको मोटरसाइकल गत असार २१ गते जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका वडा नं. ५ गोल्ढुङ्गाबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि प्रविन ढुंगानाले हुलिया सहितको निवेदन महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको महाशाखाले जनाएको छ ।