कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका १०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउँद हत्यामा संलग्न भनिएका मुख्य अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १०, चकमलीका ३४ वर्षीय सुकबहादुर राना भनिने अमर राना छन् ।
घटनाका मुख्य योजनाकार अमर घटना पश्चात फरार भई भारततर्फ गएकोमा विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-१९ फुलबारी क्षेत्रको नेपाल भारत सिमा नजिकमा उनलाई फेला पारी पक्राउ गरेको हो ।
सिमावर्ति क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा नियमित गस्ती गर्ने क्रममा भारततर्फ गोरु गाडामा मटर तस्करी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले गत कार्तिक १ गते प्रहरी सहायक निरिक्षक गोबिन्द र प्रहरी जवान राम बहादुरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फालेको अवस्थामा प्रहरी सहायक निरीक्षक गोबिन्दको शव भोलीपल्ट बिहान मोहना नदीमा फेला परेको थियो भने प्रहरी जवान राम बहादुरको शव कार्तिक ४ गते बिहान सोही नदीमा फेला परेको थियो ।
घटनामा संलग्न ९ जना पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्तालाई यस अघिनै विभिन्न मितिमा पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीमा पेश गरिएकोमा अदालतको आदेशले ८ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए भने राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी तिरी तारेखमा छुटेका थिए ।
अमर रानालाई आजै जिल्ला अदालत कैलालीमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।