काठमाडौं । झापा, मकवानपुर, काभ्रेपलाञ्चोक र बर्दियाका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार झापा मेचीनगर नगरपालिका-६ स्थित सडकबाट २८ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने मिसाइलो पदार्थ सहित सोही नगरपालिका-७ गैरीगाउँ बस्ने ३१ वर्षीया हेमा गणेशलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हेमाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर मनहरी गाउँपालिका-७ मनहरी बसपार्कबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-८ साङगेटार बस्ने १८ बर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर बकैया गाउँपालिका-२ धियालबाट रौतहट चन्द्रपुर नगरपालिका-३ गैटार बस्ने २८ वर्षीय पूर्ण बहादुर गोलेलाई करिब ६ केजी अवैध लागूऔषध गाँजा, १ थान खुकुरी र १ थान हँसिया सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१४ नासिका मन्दिर अगाडिबाट करिब १ केजि अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-८ बस्ने २२ वर्षीय दिपक तामाङ र सोही गाउँपालिका-९ बस्ने १९ वर्षीय मेगराज तामाङ रहेका छन् ।
प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले उनीहरु सवार बा.३० प ६०४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बर्दिया बढैयाताल गाउँपालिका-८ स्थित पाण्डे इँटाभट्टा नजिकबाट नियन्त्रित लागूऔषध ३ सय २० थान नाईट्राभेट सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-५ बस्ने २२ वर्षीय सुदीप कुमार थारु र २५ वर्षीय कुमार थारु रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।