काठमाडौं । काठमाडौं, सर्लाही, दाङ, मोरङ, सप्तरी र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित निर्माण कार्यमा संलग्न ना २ क ३२३ नम्बरको निसान गाडी सडकबाट करिब २ सय ५० मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका-७ घर भएका २४ वर्षीय मानकुमार माझीको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका चालकको प्रहरीले खोजी कार्य गरिरहेको छ ।
यसैगरी काठमाडौं किर्तिपुर नगरपालिका-६ चोभार मन्जुश्री पार्क नजिक सडकमा बा.४ ख ४५६५ नम्बरको टिपर र स.१० प ४९१३ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ च्याङसीटार-५ बस्ने २४ वर्षीय सरोज राईको घटनास्थलमै मृत्यु भएको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सर्लाही धनकौल गाउँपलिका-५ छटिघाटस्थित सडकमा बीआर ३० यु ४१९१ नम्बरको मोटसाइकल आफैं अनियन्त्रित भई पुलबाट करिब १० फिट तल खसेर सोमबार साँझ दुर्घटना हुँदा चालक कौडेना नगरपालिका-६ सक्रोल बस्ने ३५ वर्षीय प्रमोद रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएको उनको एडभान्स सन्जिवनी अस्पताल बरहथवामा पठाएकोमा उपचारको क्रममा मृत्यु हो ।
यसैगरी दाङ घोराही उपमहानगरपालिका-१८ मुसलबान डाँडास्थित सडकमा लु.६५ प ८०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चलाइरहेकासोही ठाउँ बस्ने १७ वर्षीय बीरेन्द्र रोकामगरको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मुत्यु भएको हो ।
यसैगरी दाङ राप्ती गाउँपालिका-८ बिजौरीस्थित सडकमा लु.१ ख ७००६ नम्बरको ट्रकमा रा.३ प १३७३ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सोही गाउँपालिका-७ अननपुर बस्ने २७ वर्षीय अनिल चौधरीको सोमबार राति मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङ विराटनगर महानगरपालिका-१५ झमेली चोकमा मे.७ प ६३३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया बिखिया देवी साहको सोमबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सप्तरी सुरुङगा नगरपालिका-४ कन्कपुरस्थित सडकमा प्रदेश २-०१-००१ प ५२६४ नम्बरको मोटरसाइकल स.१ त ३०८६ नम्बरको ट्याक्टरमा ठोक्किदा मोटरसाइकल चालक खडक नगरपालिका-३ बस्ने २५ वर्षीय सागर चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको राउ अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि धरान घोपा रिफर गरिएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी धनुषा बिदेह नगरपालिका-५ मुडिवास्थित सडकमा ज.१ त ६९६३ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घट्ना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय दिलिप पासवानको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सोही नगरपलिका-६ गिद्धा बस्ने ४५ वर्षीय सिंगेश्वर दासलाई उपचारका लागि जनकपुरतर्फ पठाइएको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।