काठमाडौं । काठमाडौं, पाँचथर, मोरङ र रामेछापका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित सडकमा ना.२ क ३२३ नम्बरको निसान गाडी अनियन्त्रित भई सडकदेखि करिब २ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा गाडीमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका-७ घर भएका २४ वर्षीय मान कुमार माझी रहेका छन् । फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी पाँचथर फिदिम नगरपालिका-१ बतासे खोल्सीस्थित सडकमा मे.१ त ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सुनसरी झुम्का बस्ने २६ वर्षीय सन्तोष लम्जेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङ बिराटनगर महागनगरपालिका-४ अमाहि ईकराहीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १० फिट तल खसेर आइतबार राति दुर्घटना हुँदा चालक सुनसरी बर्जु गाउँपालिका-६ चिमडी बस्ने ५५ वर्षीय आशाराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी रामेछाप सुनापति गाउँपालिका-१ बोजिनी भन्ने स्थानमा बा.२० च ८७४७ नम्बरको बोलेरो ब्रेक फेल भई सडकबाट ३ फिट तल खसेर आइतबार बिहान दुर्घटना हुँदा सोही गाउँपालिका-१ बस्ने २७ वर्षीया अप्सरा मल्ल ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र गुन्सिमा समान्य उपचार पश्चात थप उपचारको क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।