काठमाडौं । सुनसरी, सर्लाही, सिन्धुली, रुपन्देही र महोत्तरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका-८ स्थित सडकमा को.२ त २०२३ नम्बरको ट्याक्टरले को.११ प १२०० नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-८ बस्ने सजात मियाको १० वर्षीया छोरी रेहना खातुनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि दुबै जनालाई गोल्डेन अस्पताल विराटनगर पठाइएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सर्लाही ईश्वरपुर नगरपालिका-१२ बाँके चोकमा प्रदेश २-०२-००१ च ०३१९ नम्बरको स्कारपियो गाडी र ना.४ ख २७९६ नम्बरको बस एकआपसमा ठोकिएर बुधबार राति दुर्घटना हुँदा स्कारपियो चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि लालबन्दी मोडल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सिन्धुली दुधौली नगरपालिका-१४ जामुनेस्थित सडकमा को.१ च ६०९० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय बिराज भन्ने रुद्र बहादुर राउतको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडी चालक सेतीटार बस्ने २० वर्षीय रबिन खत्रीलाई उपचारका लागि लागि कटारी अस्पताल पठाइएको छ ।
यसैगरी रुपन्देही तिलोत्तमा नगरपालिका-१५ सखुवानीस्थित सडकमा लु.३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-१ बस्ने ३५ वर्षीय कमल प्रकाश कार्कीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रुपन्देहीकै बुटवल उपमहानगरपालिका-६ स्थित सडकमा ना.७ ख १३३९ नम्बरको लहरीले लु.४९ प २५२ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका-८ बस्ने ४९ वर्षीय भरत शर्माको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लहरी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी महोत्तरी गौशाला नगरपालिका-४ सुर्तिबिकास चौकमा प्रदेश २-०२-००२ प ९३५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ ठुलो कुसमाडी बस्ने २२ वर्षीय अम्मर बहादुर बाचेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय युवराज बलम्पाकी मगरलाई उपचारका लागि गौशाला पोलिक्लिनिक पठाइएको छ ।