काठमाडौं । रुकुम (पश्चिम), उदयपुर, महोत्तरी, मोरङ, सुनसरी र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका-७ दाजे भन्ने स्थानमा रा.१ ज ५८९ नम्बरको जिप सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा आठबिसकोट नगरपालिका-८ बस्ने ५१ वर्षीय कलीभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपाली समेत ४ जनाको घटनास्थलमै र गम्भीर घाइते भएका आठबिसकोट नगरपालिका-८ बस्ने ५८ वर्षीय लाल बहादुर नेपालीको उपचारको लागि नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी उदयपुर त्रियुगा नगरपालिका-१५ हुवास डहरमा स.१ त ५७९७ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने लाल बहादुर रम्तेलको छोरा १६ वर्षीय हिक्मत नेपालीको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी महोत्तरी शम्सी गाउँपालिका-५ स्थित सडकमा मनराबाट शम्सीतर्फ जाँदै गरेको ना.४ त ८५७८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा ट्याक्टरको टेलरमा यात्रा गरी आएका भारत सितामढी ग्राम पंचायत लालबन्दी दरबार-३ बस्ने ५० वर्षीया महरिया देवी पण्डितको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ४ जनालाई उपचारको लागि जीवनज्योति अस्पताल सम्सी लगिएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी महोत्तरीकै मटिहानी नगरपालिका-२ स्थित सडकमा प्र.२-०२-००२ प २११२ नम्बरको मोटरसाइकल र ज.९ प ८७९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा प्र.२-०२-००२ प २११२ नम्बरको मोटरसाइकलका चालक ३५ वर्षीय ओम शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी मोरङ उर्लावारी नगरपालिका-८ गुरुङ टोलमा मे.४ प ९२८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तेह्रथुम म्यागलुङ नगरपालिका-९ बस्ने ४५ वर्षीय श्याम बहादुर तामङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उर्लावारी नगरपालिका-८ सर्वलाल चोक बस्ने ३० वर्षीय उपेन्द्र दनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सुनसरी गढी गाउँपालिका-३ सानो दुहवीस्थित भित्री सडकमा प्र.२-०२००१ त ०३११ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका-४ बस्ने २८ वर्षीय सुवास साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको कोशी अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
यसैगरी सिन्धुली सुनकोशी गाउँपालिका-१ टुपिडाँडास्थित सडकमा बा.२९ प ६६६ नम्बरको मोटरसाइकल र बा.४ ख ४४५७ नम्बरको बस एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट घर भएका ३० वर्षीय राजेन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सर्लाही मलंगवा नगरपालिका-२ बस्ने ३० वर्षीय गोबिन्द ठाकुरको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।