गणेश मौनी । साउनयता सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ८८ वटा बलात्कारका घटना भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले दिएको जानकारी अनुसार यस अवधीमा कैलालीमा सबैभन्दा बढी ४४ वटा बलात्कारका घटना भएका छन् । भने यस्तै गरि कञ्चनपुरमा १५, बैतडीमा ९, डोटीमा ७, बझाङ्गमा ५, डडेल्धुरामा ४, बाजुरामा २ र दार्चुला र अछाममा १/१ जवरजस्ती करणी भएको भन्दै जाहेरी दर्ता भएका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस अवधीमा जवरजस्ती करणी उद्योगमा ३६ घटना दर्ता भएका छन् । कैलालीमा १३, कञ्चनपुरमा ९, बझाङ्गमा ५, अछाम र डडेल्धुरामा ३/३, बैतडीमा २ र बाजुरामा १ जवरजस्ती करणी उद्योगका घटना भएका छन् । यस्तै कैलालीमा ३, कञ्चनपुरमा २ र डडेल्धुरामा १ गरि अपहरण गरि जवरजस्ती करणीका ६ वटा जाहेरी परेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार डोटी र बझाङ्गमा २ महिलालाई जवरजस्ती करणी गरि हत्या गरिएको छ । यस्तै मानव बेचबिखन तथा जवरजस्ती करणीका १, अप्राकृतिक मैथुनका ३, बाल यौन दुर्व्यवहारका ५ र हाडनाता करणका १ जाहेरी दर्ता भएका प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले बताउँछ ।
महिलाहरुप्रति समाज असहिस्ष्णु भएका कारण बलात्कार र यौन दुर्व्यवहारका घटनाहरु बढ्दै गएका बताउँछन् प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मुकेश कुमार सिंह । समाजले पीडकहरुलाई सहजै पचाउने भएका कारण पनि अपराधका घटनाहरु बढ्दै गईरहेका उनी बताउँछन् । ‘पीडितलाई समाजमा हेयको दृष्टिले हेरिन्छ, पीडिकलाई सवैले सहज रुपमा स्वीकार्छन्’ ।
समाजमा अहिले पनि जवरजस्ती करणीका घटनाहरु मिलापत्र गर्ने गरेकाले पनि अपराधीहरुको मनोवल बढेको सिंहको बुझाइ छ । उनले भने ‘घटना हुन्छ, समाजका मान्छेहरु बसेर मिलापत्र गर्न खोज्छन् । त्यसपछि अपराधीहरु झन बढी सक्रिय हुन्छन् ।’ पीडितका परिवारले पनि आफ्नो ईज्जतसंग जोड्ने र कानूनको दायरामा आउनु भन्दा मिलापत्रै गरेर टुंंग्याउने गरेका कारण पनि यस्तो समस्या आएको सिंहको भनाइ छ । अपराधी जो कोही भएपनि अपराधीनै हो भन्ने बुझाई समाजमा हुनु पर्ने र अपराधका घटनाहरु कानूनको दायरामा ल्याउनका लागि सामाजिक अगुवाहरुले पनि भूमिका खेल्नु पर्ने सिंहले बताए ।