काठमाडौं । काठमाडौं, सिन्धुली, रुपन्देही, चितवन, कैलाली र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा बा.८४ प ५६४० नम्बरको पार्किङ गरी राखेको मोटरसाइकलमा प्रदेश ३-०२-०१४ प ९७९८ नम्बरको स्कुटर ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक बुढानिलकण्ठ नगरपालिका-२ चपली बस्ने ४५ वर्षीय सन्दिप गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका-१ चम्राहीस्थित सडकमा प्रदेश ३-०२-०१० प ६७६६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सन्तोष भुजेलकी छोरी ९ वर्षीया समिता भुजेलको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने उमेश भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिका-३ धकधई चोकमा लु.२ त ४६११ नम्बरको ट्याक्टर अचानक सडकमा पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार रोहीणी गाउँपालिका-३ बस्ने १२ वर्षीय निखिल घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी चितवनको रत्ननगर नगरपालिका-१० भानु चोकमा प्रदेश ०३-००१ ख १९९ नम्बरको बसले प्रदेश २-०३-००२ प २८१६ नम्बरको स्कुटरलाई सोमबार राति ठक्कर दिँदा स्कुटर चालक रत्ननगर नगरपालिका-२ बस्ने २२ वर्षीय बिपन क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाडीमा रोकी राखेको म.१ ख ६१७ नम्बरको ट्रकमा धनगढीबाट धत्तरीयातर्फ जाँदै गरेको से.१ प ८७६१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका-१ कमल खोलास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४८ वर्षीय बल बहादुर चेम्जोङको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल तथा चालकको प्रहरीले खोजी गरिरहेको छ ।