काठमाडौं । ललितपुर, डडेलधुरा, रामेछाप, दाङ र सुनसरी जिल्लाको विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका-२ स्थित बिपि पार्कको साईडमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री नुवाकोट घर भएका ३० वर्षीय टप बहादुर तामाङको घटनास्थलमै सोमबार राति मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी ललितपुरको खुमलटारस्थित सडकमा ना.६ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा काम गर्ने ललितपुर महानगरपालिका-१० पाटनढोका बस्ने सोलुखुम्बु भुलुङ गाउँपालिका-८ दुधकोशी घर भएका ५५ वर्षीय अर्जुन बिकको सोमबार दिउँसो मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी डडेलधुराको गन्यापधुरा गाउँपालिका-२ रडुवागजरौलास्थित सडकमा प्रदेश ०१ ००८ प २४५२ नम्बरको मोटरसाइकल सडकबाट ६० मिटर तल खोलामा खसेर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक डोटी दिपायल सिलगढी नगरपालिका-५ बागठाँटा बस्ने ३२ वर्षीय शंकर भुलको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीया जुनकिरी भुलको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी रामेछापको दोरम्बा गाउँपालिका-४ सानो शैलुङस्थित सडकमा ना.७ त ८७३ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको सोमबार घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्याक्टर चालक दोरम्बा गाउँपालिका-७ पुडिटार बस्ने २७ वर्षीय पेमा लामा र ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय फुर्वा दोर्जे लाप्साई रहेका छन् ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-८ गहतेखोलास्थित सडकमा रा.५ प ४७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उमहानगरपालिका-६ बस्ने २९ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
यसैगरी सुनसरीको धरान-१४ बस्ने २५ बर्षीय गोकुल तामाङको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान १० बजे धरान त्रिवेणी मार्ग भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाइते भएका थिए ।
घाइते तामाङको घोपा धरानमा उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मिनि ट्याक्टर र चालक तुलसी बि.क. नियन्त्रणमा रहेको साथै स्कुटर चालक सुस्मन मैनाली सामान्य घाइते भएको उक्त कार्यालयले जनाएको छ ।