गणेश मौनी । बिगत पाँच बर्षको तथ्याङ्क हेर्दा सुदूरपश्चि प्रदेशमा आत्महत्या गर्नेको संख्या बषेर्नि बढ्दै गएको छ ।
आर्थिक बर्ष २०७२-०७३ देखि ०७६-०७७ सम्मको तथ्याङ्क हेदा २ हजार तीन सय ८८ जनाले आत्महत्या गरेका छन् । आर्थिक बर्ष ०७२-०७३ मा यस प्रदेशमा ४ सय ५६ जनाले आत्महत्या गरेका थिए । ०७३-०७४ मा यो संख्यामा थोरै कमी आएको देखिन्छ । त्यस आर्थिक बर्षमा चार सय ३६ जनाले आत्महत्या गरेका थिए । ०७४-०७५ मा ४ सय ७०, ०७५-०७६ मा चार सय ७५ र गत आर्थिक बर्षमा ५ सय ५१ ले आत्महत्या गरेका छन् ।
आर्थिक बर्ष ०७५-०७६ को तथ्याङ्क हेर्दा आत्महत्या गर्नेहरुमा झुण्डिएर आत्महत्या गर्नेको संख्या झण्डै ७५ प्रतिशत अर्थात चार सय १३ रहेको छ । यस्तै बिष सेवन गरेर १ सय २३, हाम फालेर ९ जना, पानीमा हाम फालेर ५ जना र हात हतियार औजारको प्रयोग गरेर १ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा २ सय ६३ महिला र दुई सय ८८पुरुष रहेका छन् । जसमा ६७ बालबालिकाहरु समेत रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए ।
आत्महत्या गर्नेहरुमा सवैभन्दा बढी कैलालीमा रहेका छन् । यस जिल्लामा एक बर्षमा २ सय २३ जनाले आत्महत्या गरेका छन् । कैलालीमा झुण्डिएर एक सय ७९ र बिष सेवन गरेर ४४ जनाले आत्म हत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । आर्थिक बर्ष २०७५-०७६ मा यस जिल्लामा 1सय ९८ ले आत्महत्या गरेका थिए ।
यस्तै कञ्चनपुरमा १ सय ५८ जनाले आत्महत्या गरेका छन् । यस जिल्लामा झुण्डिएर ९६ र बिष सेवन गरेर ६२ जनाले आत्महत्या गरेका छन् । गत बर्ष यो जिल्लामा २०७५-०७६ मा एक सय ३३ जनाले आत्महत्या गरेका थिए ।
प्रदेशका सात पहाडी जिल्लाहरु मध्ये आत्म हत्याका घटना सवैभन्दा बढी डोटीमा भएका छन् । यस अवधीमा डोटीमा २० पुरुष र ११ महिला गरि ३१ जनाले आत्महत्या गरेका छन् । आत्म हत्या गर्नेमा चार बालबालिका समेत रहेका छन् । झुण्डिएर २२, हामफालेर पाँच, पानीमा हाम फालेर दुई, बिष सेवन गरेर एक र हातहतियार औजारको प्रयोग गरेर एक जनाले आत्महत्या गरेका हुन् । २०७५-०७६ मा डोटीमा २८ जनाले आत्म हत्या गरेकाथिए ।
यस्तै बझाङ्ग जिल्लामा १७ महिला र १० पुरुषगरि २७ जनाले आत्महत्या गरेका छन् । २०७५-०७६ मा यस जिल्लामा आत्म हत्या गर्नेको संख्या १२ मात्रै थियो । झुण्डिएर २२, बिष सेवन गरेर चार र पानीमा हाम फालेर एक जनाले आत्महत्या गरेका छन् ।
यस्तै डडेल्धुरामा १४ पुरुष नौ महिला गरि २३ जनाले आत्महत्या गरेका छन् । यस जिल्लामा झुण्डिएर १५, बिष सेवन गरेर ६ र पानीमा हाम फालेर दुई जनाले ज्यान लिएका छन् । डडेल्धुरामा २०७५-०७६ को भन्दा गतबर्ष आत्महत्याका घटना कम भएका छन् । २०७५-०७६ ३२ जनाले आत्म हत्या गरेका थिए ।
यस्तै अछाममा १२ पुरुष र ११ महिलागरि २३ जनाले आत्महत्या गरेका छन् । भुण्डिएर २२ र बिष सेवन गरेर एक जनाले आत्म हत्या गरेका छन् । २०७५-०७६ मा यो संख्या १९ थियो । दार्चुलामा ११ पुरुष र १२ महिलागरि २३ जनाले आफ्नो ज्यान आफै लिएका छन् । झुण्डिएर १९, हाम फालेर तीन र बिष सेवन गरेर एक जनाले आत्महत्या गरेका हुन् ।यस जिल्लामा २०७५-०७६ मा १९ को ज्यान गएको थियो ।
यस्तै बाजुरामा एक बर्षमा महिला १४ र पुरुष ७ गरि २१ जनाले आत्म हत्या गरेका छन् । झुण्डिएर २० र बिष सेवन गरेर एक जनाले आत्म हत्या गरेका हुन । ०७५-०७६ मा बाजुरामा १० जनाले आत्महत्या गरेका थिए ।
यस्तै बैतडीमा ७ पुरुष र १५ महिला गरि २२ जनाले आत्म हत्या गरेका छन् । यस जिल्लामा २०७५-०७६ मा २४ जनाले आत्महत्या गरेका थिए । झुण्डिएर १८, बिष सेवन गरेर तीन र हामफालेर एक जनाले ज्यान लिएका हुन ।
आत्महत्या र अपराधिक घटनाहरु रोकथामका लागि प्रहरीले बेला बेलामा सचेतना मूकल कार्यक्रमहरु सञ्चालन गरिरहेको एसएसपी सिंहले जानकारी दिए । उनले अन्य सामाजिक संघसंस्थाहरुले पनि प्रभावकारी रुपमा समाजमा सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरिदिनु पर्ने बताए ।