काठमाडौं । नुवाकोट, रुपन्देही, बर्दिया र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नुवाकोटको बिदुर नगरपालिका-५ माझीटारस्थित सडकमा बा.२ ज ५२३३ नम्बरको ट्याक्सी अनियन्त्रित भई नालामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्सी चालक धादिङ धुनीबेसी नगरपालिका-७ बस्ने ५२ वर्षीय नवराज खत्रीको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिका-५ पिपरिचापास्थित सडकमा बा.१५ च ९३८९ नम्बरको बलेरो जिप अनियन्त्रित भई सालको रुखमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक तिलोतमा नगरपालिका-११ शिवपुर बस्ने ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका-१२ भिमकालीपथस्थित सडकमा प्रदेश २-०३-००७ प ८७९४ नम्बरको स्कुटर शनिबार राति अनियन्त्रित भई पल्टन जाँदा चालक सोही नगरपालिका-२ बस्ने ४६ वर्षीय दिपक कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बर्दियाको बाँसगढी नगरपालिका-८ लक्ष्मण चोकस्थित सडकमा ना.३ख ३६०१ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका साईकलयात्री करिब ४१ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पाँचथरको याङवरक गाउँपालिका-४ देउराली चोकस्थित सडकमा को.२ त ७०४३ नम्बरको ट्याक्टरको पछाडिको ट्रली शनिबार साँझ सडकबाट करिब ३० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्रलीमा सवार सोही गाउँपालिका-४ बस्ने ५० वर्षीय मानध्वज माबोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मानध्वजको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।