काठमाडौं । देशका भिभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परि सात जनाको मृत्यु भएको छ ।
खोला तथा नहरमा डुबेर मृत्यु
रोल्पा, थवाङ गाउँपालिका-२ स्थित जुरवाङ खोलामा डुबेर सोही गाउँपालिका ठुलोगाउँ बस्ने कमला पुन मगरको ४ वर्षीय छोरा बीर प्रकाश पुन मगरको बिहीबार साँझ मृत्यु भएको छ ।
खेतमा काम गरी घरतर्फ फर्किदै गर्दा उक्त खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले घटनास्थलबाट अन्दाजी ५ सय मिटर टाढा सोही गाउँपालिका-१ झक्किवाङस्थितमा उनको शव फेला पारेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-११ कालोपुल बस्ने ४६ वर्षीय ईन्द्र बहादुर चन्दको सोही ठाउँस्थित नहरमा डुबेर बिहीबार राति मृत्यु भएको छ । नुहाउने क्रममा उक्त नहरले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले घटनास्थलदेखि १ सय मिटर टाढाबाट उनलाई उद्दार गरी उपचारको लागि महाकाली अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
रुखबाट लडेर मृत्यु
सुर्खेत, लेकबेशी नगरपालिका-६ फलाटे बस्ने १७ वर्षीया उमा भुरुङको रुखबाट लडेर बिहीबार बिहान मृत्यु भएको छ । सोही स्थानस्थित सल्लाघारी सामुदायिक जंगलमा रुखको घाँस काट्ने क्रममा रुखबाट लडेर उनको मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु
सिरहा, नराह गाउँपालिका-२ पानवारी बस्ने राम जुलुम यादवको छोरी १३ वर्षीया सम्झना कुमारी यादवको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको मोटर जडान भएको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कपिलवस्तु, महाराजगंज नगरपालिका-११ चौहट्टा बस्ने २३ वर्षीय सुरज कुमार भरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । छिमेकीको घरमा पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल तौलिहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
नवलपरासी(पश्चिम), प्रतापपुर गाउँपालिका-८ बद्रिघाट बस्ने ५० वर्षीय खजन्ती राजभरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । टिनले छाएको घरमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको स्थानीय सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।
घर भत्किँदा मृत्यु
सर्लाही, ५ असार चन्द्रनगर गाउपालिका-७ बस्ने कैलास साहको नायाँ बनाउदै गरेको घर खपडाले छाना छाउने क्रममा अचानक भत्किँदा ६५ वर्षीया देवकली देबी सिंहको बिहीबार साँझ मृत्यु भएको छ ।
घटनामा परी गम्भीर घाइते भएकी उनको श्रीराम हस्पिटल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घर भत्किँदा घाइते भएका कैलास साहका वुवा ७० वर्षीय रामबरण साहको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य २ जना घाइते उपचार पश्चात डिस्चार्ज भएका छन् । उक्त घर पूर्ण रुपमा भत्किएर करिब १ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।