काठमाडौं । काठमाडौं, कैलाली, तनहुँ, नवलपरासी(पूर्व), मकवानपुर, सर्लाही र महोत्तरीका छुट्टाछुट्टै स्थानामा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-२६ कपुरधारास्थित सडकमा बा.९५ प ६४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विजुलीको पोलमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-२२ न्यूरोड घर भई हाल नागार्जुन नगरपालिका-७ रामकोट बस्ने ३४ वर्षीय निरज सिख्राकारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गोंगबुस्थित बिनायक अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका-१६ नयाँबजार घर हुने २६ वर्षीय बेरन लामा समेत सामान्य घाइते भएकोमा उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, बर्दगोरीया गाउँपालिका-१ बैनिया बजारस्थित सडकमा ना.७ ख ९३० नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २५ वर्षीया सरस्वती कुमारी उपाध्यायको बुधबार दिउँसो मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको बर्दगोरीया अस्पताल हुँदै सेती प्रादेशिक अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, बन्दिपुर गाउँपालिका-६ साराङघाट बुद्धसिहस्थित सडकमा ‘अन टेष्ट’ लेखिएको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरले च्यापिएर बन्दिपुर गाउँपालिका-६ घमलछाप बस्ने २२ वर्षीय पञ्चराज गुरुङको मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी(पश्चिम), प्रतापपुर गाउँपालिका-४ बर्दघाटेस्थित सडकमा लु.१ त ६८८६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सरावल गाउँपालिका-७ भुजहवा बस्ने २८ वर्षीय दिनेश यादवको मृत्यु भएको छ । सोही ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित सडकमा ना.८ ख ७५५८ नम्बरको टिपरले प्रदेश ३-०२-०१२ प १३३८ नम्बरको स्कुटरलाई बुधबार राति ठक्कर दिँदा स्कुटर चालक केशर दोर्जे थिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ गुरौबिर्ता बस्ने ४६ वर्षीय बीरबहादुर थिङको ढुङ्गाले लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित राप्ती खोलामा ना.५ त २५३७ नम्बरको ट्याक्टरमा सोमबार बिहान ढुङ्गा लोड गर्ने क्रममा ढुङ्गाले लाग्दा घाइते भएका थिङको हेटौंडा अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाही, कबिलासी नगरपालिका-५ रनियास्थित सडकमा बिआर ०६ एस ०९९८ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीया जानकी देवी रामको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ । फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
महोत्तरी, बलवा नगरपालिका-११ स्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले लु.५७ प ४६०५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भंगाहा नगरपालिका-१ कबिलाशा बस्ने ४० वर्षीय श्रीनारायण मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भंगाहा नगरपालिका-१ कबिलाशा बस्ने ३८ वर्षीय ओपिन्द्र मण्डलको सोही अस्पतालामा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।