काठमाडौँ । सिरहा, नवराजपुर गाउँपालिका-५ बस्ने संजय यादवको छोरा १४ वर्षीय सतिश यादवको सोही ठाउँस्थित खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
सोही गाउँपालिका झाझपट्टीस्थित मुनहरा खोलामा जमेको पानीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु
रुपन्देही, तिलोत्तमा नगरपालिका-१३ गबनी बस्ने २८ वर्षीय सुरेश चौधरीको सोही ठाउँस्थित घाग्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा बुधबार राति मृत्यु भएको छ । सोही ठाउँ बस्ने गोपाल पुनको घरबाट बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको बताइएको छ ।
सिरहा, कल्याणपुर नगरपालिका-९ बस्ने राधा किसुन यादवको छोरा १४ वर्षीय अनिल यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरको विद्युतीय प्लगमा टर्च लाईट चार्ज गर्ने क्रममा तारबाट अचानक करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि मिर्चैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
पहिरोमा परेर मृत्यु
दार्चुला, मालिकार्जुन गाउँपालिका-४ चिउरानी बस्ने ६० वर्षीया बिरमा धामीको सोही ठाउँस्थित क्याम्पस रोडमा गिट्टी संकलन गर्ने क्रममा एक्कासी माथिबाट आएको पहिरोमा च्यापिएर बुधबार दिउँसो मृत्यु भएको छ ।
धामी पहिरोमा च्यापिएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी शंकर पस्तिबाट खटिएको प्रहरीले उनलाई उद्दार गरी उपचारको लागि गोकुलेश्वर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
भिरबाट लडेर मृत्यु
स्याङ्जा, गल्याङ नगरपालिका-४ बस्ने ३२ वर्षीय पदम पाण्डेयको सोही नगरपालिका-५ साउन्दिस्थित भिरबाट लडेर बुधबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित रुपाखानिबाट पिकनिक खाई घर फर्कने क्रममा लडेर भिरमा अड्किएको अवस्थामा पाण्डेयको शव फेला परेको हो ।