काठमाडौं । महोत्तरी, बाँके, धनुषा र सुनसरीका बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ पाटुस्थित बिपी राजमार्गमा बा.३ ख ४०३६ नम्बरको यात्रुबाहक बस शनिबार बिहान अनियन्त्रित भई सडकमा पल्टिँदा बसका सहचालक २४ वर्षीय बाबुराम बिकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका १ जना पुरूषलाई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिबासतर्फ पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझा चोकमा भे.३ प ३९ नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भई दुर्घटना हुँदा हुम्ला ताजाकोट घर भएका सुभास सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सुभासको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, मिथिला बिहारी नगरपालिका-७ कवरगाहाँस्थित सडकमा ज.६ प ७७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार लक्ष्मीनियाँ गाउँपालिका-३ बनिगामा बस्ने ५५ वर्षीया सुनर देवी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी साहलाई उपचारको लागि मेहीलाल अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका-१ छघरिया टोल बस्ने ३० वर्षीय हेम शंकर साह हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, बर्जु गाउँपालिका-६ बर्जुस्थित खेतमा सोही ठाउँ बस्ने हरि नारायण पंण्डितले चलाएको पावर टेलरले किच्दा सोही ठाउँ बस्ने ३२ वर्षीय उदित नारायण पंण्डितको मृत्यु भएको छ । शुक्रबार दिउँसो उक्त पावर टेलरलाई पछाडिबाट ठेल्ने क्रममा गम्भीर घाइते भएका पंण्डितको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । उक्त पावर टेलर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।