काठमाडौं । नवलपरासी(पश्चिम) र उदयपुरका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी(पश्चिम), सुस्ता गाउँपालिका-३ रेवारेताबाट नियन्त्रित लागूऔषध ईस्पास्मो ५ सय ७६ क्याप्सुल, नाइट्रोभेट १ सय ४६ पिस, फेनारगन ९ एम्पुल, आई.पि.पि.एल ९ एम्पुल, ओनेरेक्स १ सय एमएलको ८ सिसी तथा नगद २ लाख ३३ हजार ३ सय ५० रुपैयाँ सहित सुस्ता गाउँपालिका-२ गुदरिया बस्ने ३७ वर्षीय रंगलाल गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले एपि ५७ आर ८२७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक गुप्तालाई उक्त लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, उदयपुरगढी गाउँपालिका-७ कोल्टेबाट अवैध लागूऔषध गाँजा १ केजी ६ सय ग्राम सहित सोही ठाउँ बस्ने ६८ वर्षीय नारायण प्रसाद हुमागाई र सप्तरी सुरुङगा नगरपालिका-७ बस्ने १९ वर्षीय राधेश्याम भन्ने किसोर लभरियालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरुको साथबाट स.१० प ९०१६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।