काठमाडौं । तनहुँ, सुर्खेत, र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकमा ना.५ ख ४२९४ नम्बरको बस सडकदेखि करिब २ सय ५० मिटर तल मर्स्याङदी नदीको किनारमा खसेर आइतबार साँझ दुर्घटना हुँदा ३ जनाको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कास्की पोखरा महानगरपालिका-२४ बस्ने ४१ वर्षीय टहल गिरी र हाल नाम, थर, वतन नखुलेका २ जना पुरुष रहेका छन् ।
दुर्घटनामा घाइते भएका २८ जनालाई प्रहरीले उद्धार गरी उपचारको लागि छिम्केश्वरी अस्पताल आबुखैरेनीमा पठाइएकोमा ६ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् भने ९ जनालाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन, ९ जनालाई पुरानो मेडिकल कलेज चितवन, १ जनालाई एलाईभ अस्पताल भरतपुर पठाइएको र ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१ ट्याम्पुपार्कस्थित सडउकमा भे.५ प ४९९ नम्बरको मोटरसाइकलले आइतबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री सोही नगरपालिका-२ बस्ने ५० वर्षीया कलावती रेग्मीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० फरेष्टीस्थित सडकमा ना.२ ख ९३३६ नम्बरको ट्रकले ना.२७ प ८४२९ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका साबिक हाडिखोला-२ बस्ने ३२ वर्षीय भिम अर्यालको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।