काठमाडौं । भक्तपुर, कैलाली, नवलपरासी (पश्चिम), चितवन र भोजपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-९ स्थित जय व्रहमाजी इँटाभट्टामा बा.५ ख ७९७१ नम्बरको मिनी टिपरको ठक्करबाट गम्भीर घाइते भएका सोही भट्टामा काम गर्ने सर्लाही जियारत घर भएका ईश्वर मोक्तानको १८ महिनाको छोरा शिशिर मोक्तानको उपचारको लागि मध्यपुर अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-१२ स्थित सडकमा 'अनटेष्ट' लेखिएको खेत जोत्ने टेलिपावरबाट खसेर गम्भीर घाइते भएका टेलिपावरमा सवार सोही स्थान बस्ने कृपा राम चौधरीका छोरा ७ वर्षीय प्रबेश चौधरीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको छ । टेलिपावर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-५ बनकट्टीमा एचआर ४५ बि ६३३१ नम्बरको ट्रकले लु.१७ प ७३९४ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक रामग्राम नगरपालिका-१४ पर्सावल बस्ने २४ वर्षीय प्रदिप अग्रहरीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका-७ वीरेन्द्रनगर चोकमा प्रदेश १-०१००१ ख ३४६४ नम्बरको बसले प्रदेश ३-०२०१४ प १४४६ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटरमा सवार बारा परवानीपुर नगरपालिका-२ बस्ने २३ वर्षीय राजिव ठाकुरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटर चालक भरतपुर महानगरपालिका-१० बस्ने २२ वर्षीय श्रीसव देवकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भोजपुर, आमचौक गाउँपालिका-९ माजखानीस्थित सडकमा ना.३ त ८७५१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका बोक्सेटार बस्ने १८ वर्षीय तेज बहादुर बस्नेतको घट्नास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।