काठमाडौं । मोरङ, सिरहा र झापाका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।
मोरङ, बिराटनगर महानगरपालिका-११ स्थित बसपार्कबाट नियन्त्रित लागूऔषध लुप्रिजेसिक, एभिल र डाईजेल्याप २ सय ६० एम्पुल र सिरिन्ज ३ थान सहित सोही नगरपालिका पिचरा घर बताउने २६ वर्षीय दिपेस श्रेष्ठ र उनकै श्रीमती २१ वर्षीया तृष्णा श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बुढीगंगा गाउँपालिका-६ स्थित कोयलपुर चोकबाट एभिल १९ एम्पुल, फेनारगन १९ एम्पुल, डाईजेल्याप २४ एम्पुल, लुप्रिजेसिक २४ एम्पुल र मोबाइल ४ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुन्दर हरैचा नगरपालिका-११ बस्ने ३३ वर्षीय सुरेन्द्र राई र सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय मनिष परियार रहेका छन् ।
प्रहरी चौकी कोयलपुरबाट खटिएको प्रहरीले को.१४ प ८६७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका-५ पोखरभिण्डा बस्ने ४७ वर्षीय बद्री प्रसाद साहलाई अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्राम र नगद १ हजार ८ सय ९५ रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साहले आफ्नो किराना पसलमा लागूऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले जाँच गर्दा पसलबाट उक्त परिमाणको लागूऔषध गाँजा तथा नगद फेला पारेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ स्थितबाट नियन्त्रित लागूऔषध डाईजेपाम २६ एम्पुल, फेनारागन २६ एम्पुल र लुप्रिजेसिक २६ एम्पुल सहित कमल गाउँपालिका-५ बस्ने २३ वर्षीय मनिष धिमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।