काठमाडौं । काठमाडौं, तनहुँ, बाँके र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा बा.२ ज १४३० नम्बरको ट्याक्सी र बा.७८ प १४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङको मृत्यु भएको छ ।
दुर्घटना गम्भीर घाइते भएका निखिलको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ घर भएका २२ वर्षीय रुपेश तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, ब्यास नगरपालिका-१२ कमलबारीस्थित सडकमा ग.१ ख ९६१८ नम्बरको बसले शनिबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही नगरपालिका देउराली खानीगैरा बस्ने पैदलयात्री ५० वर्षीया बिष्णुमाया थापा घर्तिको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-११ स्थित पासाङल्हामु सडकमा लु.३ त ५४३२ नम्बरको ट्याक्टरले शनिबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ९० वर्षीय पैदलयात्री साबिर जसगडको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाटस्थित सडकमा ना.५ ख ३७७७ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशुली नदी किनारमा खस्दा ट्रक चालक मकवानपुर भैसे बस्ने ४५ वर्षीय बिखे थोकरको मृत्यु भएको भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थोकरको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।