काठमाडौं । बारा, रुपन्देही र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
बारा, पचरौता नगरपालिका-९ स्थित सडकमा लु.२१ प ६९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँस्थित काला बंजरटोल बस्ने ३५ वर्षीय मन्जय ठाकुर लोहारको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रुपन्देही, मायादेवी गाउँपालिका-४ वनकसीयास्थित सडकमा लु.१ ख ३३१४ नम्बरको टिपरले लु.२ प १८७९ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ भिलरहवा बस्ने ६० वर्षीय रमेश लोधको घटनास्थलमै मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, बोदेबर्साईन नगरपालिका-४ गौरास्थित सडकमा ना.१ क ५५२७ नम्बरको टिपरले स.१ ह ३७९५ नम्बरको अटोलाई मंगलबार बिहान ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा अटोमा सवार भारत मोतिहारीका २६ वर्षीय मोहम्मद सदाम हुसेन र महादेव गाउँपालिका-१ बस्ने ५५ वर्षीय फुनकुनीय खातुन रहेका छन् । हुसेनको घटनास्थलमै मृत्यु भएको हो भने खातुनको जीवन दिप अस्पताल बोदेबर्साईनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिई हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।