काठमाडौं । मोरङ, बाँके, रुपन्देही, संखुवासभा, बारा र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
मोरङ, बिराटनगर महानगरपालिका-६ झर्नाचोकस्थित सडकमा को.१ च ६६३९ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया जागो देवी कामतको न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, बैजनाथ गाउँपालिका-१ हात्तिसार चिसापानीस्थित सडकमा भे.१ ख २७५९ नम्बरको बसले भे.१ च १६५१ नम्बरको जिपलाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका जिपका चालक नौबस्ता-२ बस्ने ३२ वर्षीय राज कुमार थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, सैनामैना नगरपालिका-२ सरौलीस्थित सडकमा लु.२ ख ३८९८ नम्बरको टिपरले लु.२६ प ८१८० नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रोल्पा, रोल्पा नगरपालिका-३ बस्ने २५ वर्षीय तारा प्रसाद केसीलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संखुवासभा, खाँदबारी नगरपालिका-४ तल्लो पांमास्थित सडकमा को.१ त ९१५३ नम्बरको ट्याक्टरको पछाडी चक्का भाँचि उक्त ठाँउमा जग लगाउने क्रममा उक्त जग माटोमा भासिन गई सोहि ट्याक्टरले किच्दा चालक खोटाङ सुंदेल बस्ने २२ वर्षीय उचित राईको शुक्रबार साँझ घट्नास्थलमै मृत्यु भएको छ ।
बारा, महागढीमाई नगरपालिका-२ ईनर्वा चोकमा ना.८ ख ३१५८ नम्बरको टिपरले ना.३१ प ६९१० नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रौतहट मौलापुर नगरपालिका-२ मर्जादपुरटोल बस्ने ३५ वर्षीय समदलाल यादवको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, सुरुङगा नगरपालिका-१ बोरिया खोलास्थित सडकमा उदयपुरबाट सप्तरीतर्फ जाँदै गरेको स.१ त ७५०७ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका सोही नगरपालिका-४ बस्ने ४५ वर्षीय बेतव साहको राउ अस्पताल लहानमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।