गौर । नेपाली कांग्रेसका सांसद तथा पुर्वमन्त्री मोहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।
पहिलो संविधानसभाको निर्वाचनका समयमा रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका आलमलाई बिहीबार जिल्ला अदालत रौतहटले मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनलाई जेल चलान गरिएको हो।
बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो।
सरकारी वकिल कार्यालय रौतहटले आलमसहित उनका भाइ मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
आलम पक्राउ परे पनि अरू सबै फरार छन्। फरार रहेका सबैको नाममा पक्राउ वारेण्ट जारी गर्न माग गरिएको छ। विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको थियो।