दाङ । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले साउन १६ गतेदेखि १९ गतेसम्म चलाएको विशेष खोजतलास अभियानका क्रममा उक्त हतियारहरू फेला परेका हुन् । बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका वन क्षेत्रमा बेवारिसे अवस्थामा यी बन्दुकहरू भेटिएको प्रहरीले जनाएको छ ।
बंगलाचुली गाउँपालिकाका विभिन्न वडास्थित वन क्षेत्रहरूबाट ठूलो संख्यामा भरुवा बन्दुक बरामद भएका छन् । वडा नं. ४, ५, ६, ७ र ८ का हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा गरिएको खोजीका क्रममा बेवारिसे अवस्थामा ४८ थान भरुवा बन्दुकका नाल बरामद गरिएको हो ।
यसैगरी, लमही नगरपालिका–९ तरुलियास्थित बिरह सामुदायिक वन क्षेत्रबाट थप ७ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
बरामद गरिएका सबै भरुवा बन्दुकहरू बेवारिसे अवस्थामा फेला परेका हुन् । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।