काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले शान्ति स्थापनार्थ साउथ सुडान मिशनमा जाने १३औं डफ्फाको विदाई गरेका छन् ।
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न जाने १३औं डफ्फाको आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा उनले हार्दिक बिदाई गरेका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिशन वान जुबामा कार्यरत १२औँ डफ्फालाई बदली गर्न जान लागेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको एक वर्षे कार्यकाल सफल र उपलब्धि मूलक रहोस् भन्ने हार्दिक शुभकामना समेत व्यक्त गरे । उनले हाल विश्वमा भू–राजनीतिक प्रतिस्पर्धा, आतंकवाद र साइबर सुरक्षा जस्ता चुनौतीहरु थपिएको तथा शान्ति मिशनहरुको संख्या घट्दै गएको अवस्थामा यो अवसर पाउनु गौरवको विषय भएको चर्चा गरे ।
-1785928106.JPG)
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले यो अवसर व्यक्तिगत नभई संगठन, राष्ट्र र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व भएकोले सशस्त्र प्रहरी कर्मचारीहरुले मिशनमा गरिने प्रत्येक कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि निर्धारण गर्ने उल्लेख गर्दै सशस्त्र प्रहरीले शान्ति मिशनमा कायम गरेका व्यावसायिक पहिचानलाई उचाईमा पुर्याउन अझ जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।
उनले दक्षिण सुडानको संवेदनशील सुरक्षा अवस्था, सांस्कृतिक विविधता र सिमित श्रोतसाधनका बीच कार्यसम्पादन गर्नुपर्ने चुनौतीका बीच व्यावसायिक दक्षता, आपसी विश्वास, समन्वय र सामुहिक भावनाकासाथ कार्य गर्नुपर्नेमा जोड दिदै यौन शोषण तथा दुव्र्यव्यहारमा शून्य सहनशिलता र मानवअधिकारका विषयमा पूर्ण सजग रहन कडा निर्देशन दिए । अनुशासनमा कुनै किसिमको सम्झौता नगर्न र गल्ती गर्नेलाई तुरुन्त फिर्ता गर्नुपर्ने बताउँदै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भने, ‘कुनै एक जनाको गल्ती, लापरवाही तथा अनुशासनहिनताको कारणले मिशनमाथि प्रश्न चिह्न उठ्यो भने त्यसको परिणाम घातक हुनेछ ।’
उनले आर्थिक पारदर्शिता कायम गर्दै प्राप्त बजेटको सहि सदुपयोग गरी मर्मत सम्भार तथा सामग्री व्यवस्थापनमा इमान्दार हुन समेत निर्देशन दिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरु मिशनमा कार्यरत रहँदा उनीहरुको परिवारमा आईपर्ने जस्तोसुकै समस्या समाधानका लागि संगठन सधैँ तयार रहेको बताउँदै मिशनको म्याण्डेट पूरा गरी सबै सशस्त्र प्रहरी कर्मचारीहरु थप गौरवकासाथ स्वदेश फिर्ता हुनेमा विश्वास व्यक्त गरे ।
-1785928105.JPG)
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेलले समेत सो टोलीलाई हार्दिक विदाई गरेका थिए ।
सन् २००३ बाट सशस्त्र प्रहरी बल नेपाल यूएनको शान्ति मिशन अन्तर्गत पहिलो पटक लाइवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा सकिएको थियो । त्यसैगरी दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिशन प्राप्त भएको थियो । दक्षिण सुडान मिसनमा हाल १ सय ६० जना सशस्त्र प्रहरी कर्मचारीहरु कार्यरत छन् ।
सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तसहित १६० जना सशस्त्र प्रहरी कर्मचारीहरु साउन २१ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।