काठमाडौं । नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ ।
जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल २ थान, पेस्तोल २ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ९ थान, भरूवा बन्दुक ४१ थान, बन्दुक ९ थान र एयरगन ३ थान गरी जम्मा ६७ थान हातहतियार बरामद भएको छ । साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली ४ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, कटुवा पेस्तोलको १४ राउण्ड र विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ ।
अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याई अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले सदैव क्रियाशील छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभरिनै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ ।
अवैध हतियार कतै लुकाईराखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरी अनुरोध गर्दछ ।