काठमाडौं । देशका केही स्थानमा पछिल्ला दिनहरूमा देखिएको असहज परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै सशस्त्र प्रहरी बल, नेपालले सम्पूर्ण नागरिकलाई शान्ति, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीद्वारा जारी अपिलमा नेपाली समाजले सदियौँदेखि आपसी भाइचारा, सहिष्णुता र सहअस्तित्वलाई आत्मसात गर्दै संवाद र समझदारीका माध्यमबाट जटिल समस्यासमेत समाधान गर्दै आएको उल्लेख गरिएको छ ।
प्रवक्ताले समाजमा देखिने असमझदारी र मतभेदलाई हिंसा, तोडफोड, आगजनी वा हुलहुज्जतबाट होइन, संयम र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । यस्ता गतिविधिले सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा तथा एकतामा नकारात्मक असर पुग्ने भएकाले कुनै पनि आवेग वा उत्तेजनामा आएर हिंसात्मक, गैरकानुनी तथा समाजमा द्वेष फैलाउने गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ ।
सशस्त्र प्रहरीले सम्बन्धित घटनाको निष्पक्ष छानबिन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै अहिलेको आवश्यकता धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गर्नु रहेको जनाएको छ ।
त्यस्तै, कुनै धर्म, समुदाय वा समूहप्रति घृणा, द्वेष वा उत्तेजना फैलाउने अभिव्यक्ति तथा भ्रामक सूचना वा सामग्री प्रचार–प्रसार नगर्न पनि सबै नागरिकलाई अनुरोध गरिएको छ ।
सशस्त्र प्रहरी बलले देशभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सम्बन्धित निकायहरूसँग समन्वयात्मक रूपमा परिचालित रहेको जनाएको छ ।