काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) नारायण दत्त पौडेलले सीमा नाकामा हुनसक्ने अबैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमनका क्रममा उनले सीमा नाका क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी र रोकथाममा कडाईकासाथ लाग्न निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरी बल नेपालका बाहिनी, गण, गुल्म र बोर्डर आउट पोष्ट तथा सुरक्षा पोष्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिएका छन् ।
उनले सीमा अपराध नियन्त्रण तथा राजश्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारी रुपमा परिचालित भई नतिजामुखी काम गर्न निर्देशन दिनुहुँदै सीमा ईलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि समयमा नै योजना बनाई तैनाथ हुनुपर्नेमा जोड दिए । कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीहरुले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताकासाथ काम गर्न निर्देशन दिँदै महानिरीक्षक पौडेलले भने, ‘असल मनसायका साथ गरिएको कामकारबाहीमा भएको कमीकमजोरीको जिम्मा सङ्गठनले लिनेछ ।’
उनले परम्परागत सोच र मानसिकता भन्दा माथि उठेर नतिजा दिने किसिमले काम गर्नुपर्ने बताउँदै सीमामा बसोबास गर्ने स्थानीय वासिन्दाहरुसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आम नागरिकहरुको सहजताका लागि समेत काम गर्नुपर्ने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको समेत प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै विशेष गरी सीमानाकामा हुुने अवैध चोरीनिकासी तथा लागूऔषध ओसारपसार नियन्त्रण र राजस्व चुहावट लगायतका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य गर्नुका साथै सीमामा हुने अवाञ्छित क्रियाकलापहरु तथा सम्भावित घट्ना दुर्घटनालाई समेत मध्यनजर गर्दै परिचालित हुनुपर्नेमा जोड दिए ।
सीमामा हुने अबैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न उले सीमा क्षेत्रमा कार्यरत सबै दर्जाका कर्मचारीलाई निर्देशन दिङ । उनले वर्षातको समयलाई मध्यनजर गर्दै बाढी, पहिरो र डुवान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिहरुलाई आवश्यक उद्धारका सामग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिए ।