काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’ नेपाल एपीएफ स्कूल कीर्तिपुरमा अध्ययनरत छात्र मौलिक दुवाललाई प्रदान गरिएको छ ।
असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसर पारेर एउटै ब्याचका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापाले दुवाललाई पुरस्कार प्रदान गरेका हुन् । दुवाल संगीत विधातर्फ बाद्यवादन र गायनमा उत्कृष्ट ठहरिएका छात्र हुन् ।
यसअघिका वर्षहरुमा सो पुरस्कार नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीका छात्र प्रज्वल पौडेल तथा नेपाल एपीएफ स्कुल कीर्तिपुरका छात्रहरु रायन घिमिरे, आशीष रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो ।
स्व.पाठको स्मृतिमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मी अधिकृतहरुद्वारा सामुहिक रुपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत संगीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आएको छ ।
गीत संगीतमा रुची राख्ने पाठक २०६०/२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौं कालिका म्यूजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधि समेत हात पारेका थिए । २०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका स्व.पाठकले ‘पंक्षी र निन्द्रा लाग्दैन’ गरी दुईवटा एल्बम बजारमा ल्याएका थिए ।
गीत लेख्ने, संगीत दिने र आफै गाउने समेत क्षमता भएका स्व.पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको हो । संगठनमा व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार अधिकृतका रुपमा समेत परिचित पाठकको कर्तव्य पालनाको सिलसिलमा २०७२ चैत्र २८ गते धादिङ्गको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा परी निधन भएको थियो ।