काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–१ र सर्लाहीको बागमती नगरपालिका–११ नुनथरस्थित बागमती नदीमा असार ५ गते जल उत्पन्न विपद् उद्धार सिमुलेशन अभ्यास सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकार गृह सञ्चार तथा कानुन मन्त्रालयको समन्वय र सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको सहकार्यमा सिमुलेशन अभ्यास सम्पन्न भएको हो ।
सो कार्यक्रम प्रदेश सरकार गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको प्रमुख आतिथ्य तथा रौतहट र सर्लाही जिल्लास्थित नगरपालिका र गाउँपालिका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्ट, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी तथा जनप्रतिनिधिहरुको सहभागितमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रदेश सरकार गृह सञ्चार तथा कानुनमन्त्री माननीय फकिरा महतोले विपद् जोखिम न्यूनिकरणम र व्यवस्थापनलाई विकास तथा सुशासनको महत्वपूर्ण आधारको रुपमा लिई कार्य गर्दै आइरहेको बताउँदै प्रत्येक नागरिकको जीवन सुरक्षा सुनिश्चित गर्न प्रदेश सकार सधै तयार रहेको उल्लेख गरे ।
उनले विपद् व्यवस्थापनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई वैज्ञानिक, प्रविधिमैत्री र दिर्घकालीन योजनासहित सुरक्षानिकायहरुसँग आवश्यक समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताउँदै विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी बल नेपालले गरेको योगदानको प्रशंसा गरे ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टले सिमुलेशन अभ्यासलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनेहरूप्रति हार्दिक आभार प्रकट गर्दै सशस्त्र प्रहरी बल नेपाल राष्ट्र र नागरिकको सेवामा समर्पित रहेको बताए ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा हुनसक्ने विपद्जन्य घटनामा परेकाहरुको कसरी उद्धार गर्न सकिन्छ भन्ने अभिप्रायकासाथ बागमती नदीमा जल उत्पन्न विपद् उद्धार कृत्रिम घटना सिमुलेशन अभ्यास सञ्चालन गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नंं. ११ गण रौतहट र सुरक्षा वेश सुन्दरपुर चोहडवा सर्लाहीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहितको टोलीले विपद् व्यवस्थापन सिमुलेशन अभ्यास सञ्चालन गरेका थिए ।