दाङ । दाङमा अवैध लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१५ जानकी टोलमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्यूठान स्वर्गद्वारी नगरपालिका–३ भिङ्ग्रीका २८ वर्षीय उत्तम सुनार, घोराही उपमहानगरपालिका–५ धर्नाका २५ वर्षीय विपिन केसी, सोही स्थानका २५ वर्षीय पुष्कर भण्डारी तथा रोल्पा सुनिलस्मृति गाउँपालिका–५ काभ्राका २९ वर्षीय किरण थापा रहेका छन् ।
उनीहरू बसेको कोठामा खानतलासी गर्दा खुकुरी चुरोटको बट्टाभित्र लुकाइराखिएको दुई वटा पुडियामा रहेको शुद्ध तौल ३४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षकको कमाण्डमा स्वीप अपरेसनमा खटिएको टोलीले घोराही उपमहानगरपालिका–१४ नयाँबजार क्षेत्रबाट शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा घोराही–१८ अम्बापुरका २८ वर्षीय विजय पोख्रेल र घोराही–१५ आइरनगेट टोलका १८ वर्षीय प्रदीप सुनार रहेका छन् ।
उनीहरूको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा दुई वटा साना पुडियामा राखिएको शुद्ध तौल ८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै ६ जनामाथि लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।